
सुनाखरी न्युज/ काठमाडौं ।
एप्पलको आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ। वार्षिक फल इभेन्टमार्फत कम्पनीले सेप्टेम्बर ९ मा यो नयाँ डिभाइस सार्वजनिक गरेको हो। एप्पलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनेका जोन टर्नसको नेतृत्वमा सार्वजनिक भएको यो पहिलो प्रमुख उत्पादन हो।
कम्पनीका सीईओ जोन टर्नसले आईफोन डुओलाई मुख्य आईफोनपछिकै सबैभन्दा ठूलो रूपान्तरणका रूपमा वर्णन गरेका छन्। बजारमा सामसङले सन् २०१९ मा नै फोल्डेबल फोन ल्याइसकेको थियो भने हाल गुगल, मोटोरोला, ओप्पो र हुवावेजस्ता कम्पनीका विभिन्न फोल्ड र फ्लिप फोनहरू उपलब्ध छन्।
एप्पल प्रायः नयाँ बजारमा आउनासाथ हतार नगरी प्रविधि परिपक्व भएपछि मात्र प्रवेश गर्ने रणनीति अपनाउँछ। जस्तैस् सन् २००१ मा आईपोड, २००७ मा आईफोन र २०१५ मा एप्पल वाचका बेला पनि यस्तै देखिएको थियो।
नर्थइस्टर्न युनिभर्सिटीका प्रोफेसर टकर म्यारियनका अनुसार फोल्डेबल बजार परिपक्व भइसकेकाले एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई एन्ड्रोइडतर्फ जान नदिन यो कदम चालेको हो। यद्यपि काउन्टरपोइन्टको तथ्याङ्कअनुसार फोल्डेबल फोनको बजार हिस्सा हाल २ प्रतिशत मात्र छ भने सीएनईटीको २०२५ को सर्भेअनुसार महँगो मूल्य र स्थायित्वको प्रश्न यसका मुख्य चुनौती हुन्।
साथै, सन् २०२४ मा सार्वजनिक भएको ३ हजार ६९९ डलरको एप्पल भिजन प्रोको सुस्त बिक्रीपछि नयाँ सीईओको नेतृत्वमा आएको यस फोनको सफलतालाई निकै चासोका साथ हेरिएको छ।