२०८३ भदौ २४ , बुधवार

सिलिन्डर साटेर ग्यास दिन नसकिने व्यवसायीको अडान

gas-801×600

सुनाखरी न्युज/ काठमाडौं ।

जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाउने मन्त्रीको घोषणालाई व्यवसायीले अस्वीकार गरेका छन् ।मन्त्रालयका अनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर नपाएको अवस्थामा सोही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्नेछन्। बाढीका कारण सिर्जना भएको आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिन यस्तो व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।

उद्योगमन्त्री गौरी यादवले ग्यास उद्योगीहरूसँग छलफल नै नगरी एकतर्फी रूपमा जुनसुकै ब्रान्डको सिलिन्डर पनि साट्न दिने निर्देशन दिएको व्यवसायीहरूको भनाइ छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले एक कम्पनीको सिलिन्डर अर्को कम्पनीसँग साटेर ग्यास उपलब्ध गराउन व्यावहारिक रूपमा कठिन हुने बताएका छन्।

नेपाल आयल निगममा भएको छलफलका क्रममा आफूहरूले एक ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न नसकिने स्पष्ट धारणा राखेको चन्दले बताए। उनका अनुसार ग्यास उद्योगीसँग पर्याप्त छलफल नगरी उद्योगमन्त्रीले एकतर्फी रूपमा जुनसुकै ब्रान्डको सिलिन्डर साट्न दिने निर्देशन दिएकी हुन्।

ग्यास सिलिन्डरको स्वामित्व, वितरण प्रणाली, सुरक्षा तथा खाली सिलिन्डर फिर्ता गर्ने व्यवस्थासहितका विषयमा व्यवहारिक समस्या आउन सक्ने व्यवसायीहरूको भनाइ छ। यससँगै सरकारको निर्देशन तत्काल कार्यान्वयन हुने वा व्यवसायीको असहमतिका कारण कार्यान्वयनमा समस्या आउने भन्ने प्रश्नसमेत उठेको छ।