२०८३ भदौ २४ , बुधवार

जेनजी सहिदको अनुहारसँग सालिक नमिलेपछि अनावरण कार्यक्रम स्थगित

GenZ-Sahid-Salik_NPLPhoto-5-scaled

 

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजी आन्दोलनका सहिदहरूको अनुहारसँग निर्मित सालिक नमिलेको भन्दै परिवारजनले विरोध जनाएपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स परिसरमा तय गरिएको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ। सालिक सहिदहरूको वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि कार्यक्रम रोकिएको हो ।अधिकांश जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि आज अनावरण हुन नसकेको हो ।

गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनमा सहिद भएका युवाहरुको शालिक बनाउने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रीपरिषदले गरेको थियो । सोही सरकारका पालामा निर्माण थालिएर अहिले सम्पन्न भएको हो । भदौ २३ को एक वर्ष पुरा भएको अवसरमा आज शालिक अनावरण गर्न लागिएको थियो ।

अनावरण कार्यक्रममा सबै सहिद परिवारहरु निम्त्याइएका थिए । गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल पनि शालिकस्थलमा आइसकेका थिए । यस्तै सुशीला सरकारका सञ्चारमन्त्री जगदिश खरेलदेखि सांसद तोसिमा कार्की सम्मको उपस्थिति थियो । औपचारिक अनावरणपूर्व परिवारका सदस्यले सम्बन्धित सहिदको शालिक हेर्न पर्दा उघारे । तर कसैले पनि चित्त बुझाएनन् । आफूहरुले दिएको तस्विरभन्दा शालिकको अनुहार फरक परेको उनीहरुको गुनासो थियो ।

उनीहरुले मन्त्रीहरुलाई पनि सो गुनासो राखेपछि अनावरण कार्यक्रम स्थगित गरिएको छ । अब एक महिनाभित्र सबै शालिकहरुलाई पुनर्निर्माण गरिने मन्त्रीहरुले बताएका छन् । एक सहिद परिवारका सदस्यले काममा हेलचेक्राईं भएको बताए । उनले भने, ‘२४/ २५ वर्षको व्यक्तिलाई ४०र४५ वर्षको जस्तो बनाइदिएको छ । कसरी स्वीकार गर्ने ?