
सुनाखरी न्युज/ काठमाडौं ।
भारतको महाराष्ट्र, दिल्ली र झारखण्डलगायत विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा राखिएका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीलाई उद्धार गरी परिवारमा पुनर्स्थापना गराउन मंगलबार राति नेपालगन्ज हुँदै नेपाल ल्याइएको छ ।महाराष्ट्र, दिल्ली, झारखण्डलगायत भारतका विभिन्न स्थानबाट उद्धार गरिएका उनीहरूलाई नेपालगन्ज नाका हुँदै रुपन्देही ल्याइएको हो।
नेपाली दूतावासको समन्वय तथा भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूको उद्धार गरिएको संस्थाका निर्देशक नवीन जोशीले जानकारी दिनुभएको छ।किन इन्डियाका निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएका बालबालिकाहरूमा १५ वर्षमुनिका १२ जना र १५ वर्षभन्दा माथिका ३ जना ( ५ जना बालिकारकिशोरीसहित ) रहेका छन् ।
उद्धार गरिएकाहरू मधेश प्रदेशका साथै नवलपरासी ( सुस्ता पश्चिम ) , पाल्पा, कञ्चनपुर र कैलाली लगायत जिल्लाका छन् । उनीहरूलाई मदरसामा पढाउने बहानामा, घरेलु हिंसाका कारण भागेको अवस्थामा वा दिल्लीका रेलवे स्टेसनमा अलपत्र परेको स्थितिमा भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
नेपाल ल्याइएका बालबालिकालाई रूपन्देही पुर्याएर आज ( बुधबार ) अभिभावक तथा आफन्तको जिम्मा लगाउने कार्यक्रम रहेको छ । उद्धार टोलीमा किन इन्डियाका प्रतिनिधि र नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल समेत सहभागी थिए ।