२०८३ भदौ २२ , सोमवार

इजिप्टमा देशकी चर्चित टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई मृत्युदण्ड

capture_W7QcxZITNx-768×433

सुनाखरी न्युज/ काठमाडौं ।

इजिप्टमा एक टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ ।लागुऔषधसम्बन्धी अभियोगमा दोषी ठहरिएपछि अदालतले उनीहरूलाई मृत्युदण्ड सुनाएको हो । सरकारी स्वामित्वको ‘अल–अहराम’ पत्रिकाका अनुसार उनीहरू लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ बिक्री गर्ने उद्देश्यले आयात गर्ने एउटा आपराधिक समूहका सदस्य थिए ।

मृत्युदण्डको सजाय सुनाइएकामध्ये ३९ वर्षीय सारा खलिफा पनि छन्, जो एक टेलिभिजन प्रस्तोता हुन् । उनले सञ्चालन गर्ने कार्यक्रम ‘मिसन इम्पोसिबल’मा अपराधसँग जोडिएका घटना देखाइन्थ्यो । साराले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी थिइन् । स्थानीय अदालतले अघिल्लो महिना नै फैसला सुनाएको थियो । यद्यपि उक्त फैसलालाई एक महिनापछि बल्ल सुनिश्चित गरिएको हो । फैसला सुनिश्चित गर्नुअघि अदालतले इजिप्टको ‘ग्य्राण्ड मुफ्ती’सँग धार्मिक राय लिएको थियो । इजिप्टमा मृत्युदण्डको सजाय सम्बन्धमा यसरी राय लिनु कानुनी प्रक्रियाको हिस्सा मानिन्छ ।

अदालतको यो फैसलाविरुद्ध माथिल्लो तहमा पुनरावेदन गर्न सकिन्छ । सुनुवाइका क्रममा सरकारी अधिकारीहरूले ७५० किलोभन्दा बढी लागु औषध र त्यसलाई बनाउन विदेशबाट मगाइएको कच्चा पदार्थ बरामद गरिएको अदालतसमक्ष बताएका थिए । सरकारी अखबारका अनुसार २० जना साक्षीले अभियोजनको पक्षमा बयान दिएका थिए । यस अतिरिक्त केही विद्युतीय प्रमाण पनि अदालतमा पेस गरिएको थियो, जसमा कुराकानीको विवरण र भिडियो क्लिप पनि सामेल थियो । एजेन्सी