
बालबालिकालाई लक्षित गरेर कानमा लगाएका सुनका मुन्द्रा थुत्ने गिरोहविरुद्ध डाँकाचोरी मुद्दा दर्ता भएको छ । दाङको घोराही उपमहानगरपालिका–६ का सौगात भन्ने जेम्स नेपाली मुख्य आरोपी हुन् । अर्को आरोपीहरु सिन्धुपाल्चोक मेलम्चीका विष्णु भन्ने टीकाबहादुर क्षेत्री र कालीकोटका दीपक क्षेत्रीसमेत रहेको खुलेको प्रहरीले जनाएको छ ।
टोखाका ७ वर्षीय सानिध्य उप्रेतीलाई एक युवकले आफू विद्यालयको नयाँ ‘म्याजिक टिचर’ भएको भन्दै उनलाई तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोक पछाडि पुर्याएका थिए । त्यसपछि उनको कानमा लगाएका दुईवटा मुन्द्रा जबर्जस्ती थुतेर ती व्यक्ति फरार भएका थिए ।प्रहरीका अनुसार जेम्ससँग जोडिएका अन्य घटनासमेत अनुसन्धानका क्रममा खुलेका छन् ।
गत साउन १२ गते नेपालटार बाइपास सडकखण्डमा ४ वर्षीया दिव्या बानियाँलाई चकलेट र आइसक्रिम किनिदिने प्रलोभन देखाएर जेम्स र टीकाले नियन्त्रणमा लिएका थिए । उनीहरूले दिव्याको मुख थुनी कानमा लगाएका दुईवटा मुन्द्रा थुतेर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जबर्जस्ती मुन्द्रा थुत्दा दिव्याको कानको लोती नै च्यातिएको थियो ।
काठमाडौंमा एकपछि अर्को गर्दै कानका मुन्द्रा थुत्ने घटना बढेपछि प्रहरीले घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको थियो । यो गिरोहले विशेषगरी बालबालिका तथा एक्लै हिँडिरहेका व्यक्तिलाई प्रलोभनमा पार्ने, बाटो छेक्ने वा बल प्रयोग गरेर गहना लुट्ने शैली अपनाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।