
सुनाखरी न्युज/ काठमाडौं ।
राजमार्ग अवरुद्ध भए पनि पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको छ। १८ भदौदेखि २० भदौ ( शनिबार ) सम्म विभिन्न कम्पनीका कुल ८७ हजार ८७७ सिलिन्डर ग्यास काठमाडौं भित्रिएको निगमले जनाएको हो ।
पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा भदौ १४ गते गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति व्यवस्था सहज बनाइरहेको छ। अहिले कुलेखानी- भीमफेदी मार्ग हुँदै काठमाडौंमा ग्यास भित्र्याइएको निगमले जनाएको छ।
निगमको तथ्याङ्क अनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर ग्यास काठमाडौं उपत्यका भित्रिएको छ।
मुख्य राजमार्ग बन्द भएपछि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका उद्योगका ग्यास सिलिन्डरहरू बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगहरूमा रिफिल गराएर वैकल्पिक बाटो भित्र्याउने व्यवस्था मिलाइएको छ।
