२०८३ भदौ २१ , आइतवार

‘मिस वर्ल्ड २०२६’ को उपाधि डोमिनिकन रिपब्लिककी जोहेइरी मोलालाई

missworld1

सुनाखरी न्युज/ काठमाडौं ।

डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६ को उपाधि जितेकी छन् ।

२४ वर्षीया मोला शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बनेकी हुन् । उनले प्रतियोगितामा सहभागी १११ प्रतिस्पर्धीलाई पछि पार्दै ताज जितिन् ।

यो डोमिनिकन रिपब्लिकका लागि दोस्रो मिस वर्ल्ड उपाधि हो । यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो मिस वर्ल्ड उपाधि जितेकी थिइन् ।

प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप बनिन् । मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप बनिन् भने उनले ‘ब्युटी विथ अ पर्पस’ प्रतियोगिताको उपाधिसमेत जितिन् ।

इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका प्रतियोगी अन्तिम ६ मा पुगेका थिए । मिस वर्ल्ड अर्गनाइजेसनकी सीईओ जुलिया मोर्लीले शनिबार विजेता तथा रनरअपहरूको घोषणा गरेकी थिइन् ।

भियतनामको न्हा ट्राङमा आयोजित कार्यक्रम हानोई समयअनुसार राति करिब ९ बजे सुरु भएको थियो । यो पश्चिम अफ्रिकी समयअनुसार दिउँसो २ बजे हो ।

गत वर्षकी विजेता ओपल सुचाताले ७३औँ मिस वल्र्ड विजेता जोहेइरी मोलालाई ताज पहिर्‍याइदिइन् ।