
सुनाखरी न्युज/ काठमाडौं ।
बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली १ ( २१६ मेवा ) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।
नेपाली सेनाले शुक्रबार उनको तस्वीर सार्वजनिक गर्दै सुरुङभित्रबाट उद्धार गरिएको जानकारी दिएको हो। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक लुहाइताओ हुन्।
उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदै छ। बाढी गएको ११ औँ दिनमा उद्धार गरिएको हो।बाढीका कारण जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुगेको थियो भने आयोजनामा कार्यरत केही कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका थिए।
यसअघि बिहीबार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो। बाढीपछि सुरुङ तथा अन्य संरचनामा फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्। २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरिरहेको छ।