
सुनाखरी न्युज/ काठमाडौं ।
भोटेकोशी बाढीको ११औं दिनमा नुवाकोटको बेत्रावतिबाट एक महिलाको जीवितै उद्धार भएको छ । बाढीले भत्काएको घरभित्रबाट सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसो चण्डिका श्रेष्ठको उद्धार गरेको हो । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले महिलालाई घरभित्रबाट जीवितै निकालिएको जानकारी दिए ।
पछिल्लो समय बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धारलाई तीव्र बनाएको छ । यसक्रममा नेपाली सेनाले अपर त्रिशूली–१ आयोजनाबाट एक चिनियाँ नागरिकको समेत उद्धार गरेको थियो ।
त्यस्तै, यसअघि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ ।