
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनुभएकाहरूप्रति सम्मान व्यक्त गर्दै आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।सरकारले रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनःस्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
त्यसैगरी, सरकारले भदौ २३ गतेलाई ‘जेन–जी शहीद दिवस’का रूपमा मनाउँदै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढी प्रभावितको आपत्कालीन उद्धार तथा राहतका लागि एशियाली विकास बैंक ( एडीबी ) बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो।
बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको बताए । यस्तै, उद्धारका क्रममा घाइते भएका सुरक्षा कर्मचारीको निःशुल्क उपचार गर्ने तथा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।