२०८३ भदौ १९ , शुक्रवार

नासा नेपालले सडक सुरक्षा विषयक चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Img 1 (8)

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले सडक सुरक्षा विषयक चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
” Safe Steps, Bright Future ”  अभियान अन्तर्गत बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा भाद्र १४ गते चुनिखेलस्थित श्री नौलिन माध्यमिक विद्यालयमा आयोजित सो प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकाका १० वटा माध्यमिक र ५ वटा आधारभूत विद्यालय गरि १५ समुदायिक विद्यालयका ६० जना विद्यार्थी सहभागी भएका थिए । सडक सुरक्षा चित्रकला प्रतियोगितामा श्री नौलिन माविकी एलिसा राई प्रथम, श्री बालकुमारी माविकी ज्योति राना मगर द्वितीय र श्री बालकुमारी माविकै किरण विक तृतीय भएका छन् ।

चित्रकला प्रतियोगितामा प्रत्येक विद्यालयका २ जना गरी कुल ३० जना विद्यार्थी सहभागी भएका थिए । तीन घण्टासम्म समयवाधि भएको प्रतियोगितामा विद्यार्थीहरूका चित्रहरूको मूल्याङ्कन विषयवस्तुसँगको सान्दर्भिकता, सिर्जनशीलता तथा मौलिकता, प्राविधिक दक्षता र समग्र प्रभावका आधारमा गरिएको थियो । प्रतियोगिताको निर्णायकमा सडक सुरक्षा प्रशिक्षक तथा पुर्व डिएसपी विपिन गौतम, काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्सका विभागीय प्रमुख सागर मानन्धर र युवा चित्रकार उमा बस्नेत रहेका थिए ।

त्यसैगरी, हाजिरीजवाफ प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकाका १० वटा माध्यमिक विद्यालयबाट ३० जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताको प्रारम्भिक चरणमा विद्यालयहरूलाई दुई समूहमा विभाजन गरी समूहगत छनोटबाट उत्कृष्ट चार टोली अन्तिम चरणमा प्रवेश गरेका थिए । अन्तिम चरणमा प्रथम र तृतीय स्थानका लागि बराबर अंक आएपछि टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको थियो ।
प्रतियोगितामा श्री गणेश माध्यमिक विद्यालयका प्रशान्त सिंह ठकुरी, राजन मल्ल र एलीजा शाहीको टोली प्रथम भएको छ भने श्री नौलिन माध्यमिक विद्यालयका गरिमा बुढाथोकी, सपना मगर र रञ्जिता दर्जीको टोली द्वितीय तथा श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयका बबी माझी, लक्ष्मी तामाङ र मोहित कुँवरको टोली तृतीय भएका छन् ।

विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । हाजिरीजवाफमा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु. ९,०००, रु. ६,००० र रु. ३,००० तथा चित्रकलामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. २,००० नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार तथा प्रमाणपत्र वितरण बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई लगायतले गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सडक सुरक्षाका आधारभूत विषयमा विपिन गौतम र गोविन्द भट्टराईले संक्षिप्त अभिमुखीकरण समेत प्रदान गरेका थिए । त्यसैगरी, सागर मानन्धरले चित्रकला केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सन्देश तथा जनचेतना अभिव्यक्त गर्ने प्रभावकारी माध्यमसमेत रहेको विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए । साथै मेयर अधिकारीले बुढानीलकण्ठ नगरपालिकाका विद्यालयलाई अझ सुरक्षित बनाउने प्रतिवद्धता व्यत गरे ।

युथ फर रोड सेफ्टी र ग्लोबल युथ कोएलिसन फर रोड सेफ्टीको सहयोगमा सुरु गरिएको “Safe Steps, Bright Future” अभियान अन्तर्गत नासा नेपालले नगरपालिकाभित्रका सामुदायिक विद्यालयका १५ जना शिक्षकलाई सडक सुरक्षा सम्बन्धी तालिम र प्रशिक्षित शिक्षकहरूमार्फत हालसम्म १,१०० भन्दा बढी विद्यार्थीलाई सडक सुरक्षा सम्बन्धी ज्ञान तथा सचेतना प्रदान गरिसकेका छ । यसै अभियानअन्तर्गत विद्यालय तहमा सडक सुरक्षा शिक्षालाई व्यवस्थित र दीगो रूपमा समावेश गर्ने उद्देश्यले सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम तयार गरि पाइलट कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाबाट सुरु गरिनेछ ।