२०८३ भदौ १८ , बिहिवार

वैकल्पिक मार्ग हुँदै काठमाडौंमा ग्यास आपूर्ति सुरु

gas

सुनाखरी न्युज / काठमाडौं ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न कठिन भएपछि ग्यास उद्योगहरूले एकअर्काका प्लान्ट प्रयोग गरी सिलिन्डर भर्ने र ट्रकमार्फत उपत्यका पठाउने व्यवस्था मिलाएका हुन्। भाद्र १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा करिब दुई दिनसम्म लेदो जमेर सडक अवरुद्ध भएको र त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि हाल पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको अवस्था छ। सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं उपत्यकामा प्रवेश गर्न नसक्दा केही दिनयता उपभोक्ताले ग्यास अभावका कारण कठिनाइ भोग्नुपरेकोप्रति मन्त्रालय गम्भीर रूपमा सचेत रहेको छ।

चितवनको बाबा ग्यासले मंगलबार १ हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको सञ्चालक विमल कालाखेतीले जानकारी दिए। श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा रहेको छ। यसैगरी, साइबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर काठमाडौं पठाएको छ भने नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २०० सिलिन्डर भरेर पठाएको जनाएको छ।

गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौंका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर उपत्यका पठाउने व्यवस्था गरिएको छ। कालाखेतीका अनुसार बनेपाको सगरमाथाले परासीस्थित चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले पनि राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल भित्रिने ग्यासको परिमाणमा कमी नआएकाले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको बताए। उनका अनुसार गत महिना ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाणमध्ये एक हो।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिरका प्लान्टमा ग्यास भरेर उपत्यका लैजान अनुमति दिएको छ। उपत्यका तथा आसपासका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका विभिन्न ग्यास उद्योगसँग समन्वय गरेर सिलिन्डर भर्ने र उपत्यका पठाउने व्यवस्था मिलाएका छन्।