
सुनाखरी न्युज / काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नागरिकहरूको खोजी र फेला परेका बेवारिसे शव तथा मानव अंगहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डिएनए नमुना ( रगत ) सङ्कलन भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर ( सेवा इकाइ चितवन ) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ । बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतारिए ।
बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।
बेपत्ता नेपाली तथा विदेशी नागरिकका सबैभन्दा नजिकको रगतको नाता ( बाबु, आमा, छोरा वा छोरी ) मध्ये कुनै एक जनाले २ प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित हुनुपर्ने नेपाल प्रहरीको सूचनामा उल्लेख छ । डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब, काठमाडौं वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रहरीले जनाएको छ ।