२०८३ भदौ १८ , बिहिवार

रसुवा र नुवाकोटमा बाढीको जोखिम कायमै

mahakali-river_MO1YREcDvW

सुनाखरी न्युज/ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा साना नदीहरूमा पानीको बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बिहीबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आजदेखि आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकालीसहितका प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्नेछ।

विशेषगरी रसुवा र नुवाकोट जिल्ला भई बग्ने नदीहरूमा उच्च जोखिम देखिएको छ। महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘रसुवा र नुवाकोट जिल्ला भई बग्ने भोटेकोशी, त्रिशूली नदी तथा स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ।’

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि अझै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ। त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ।