
सुनाखरी न्युज/ काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। आज बिहान ८: ०० बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा परेका १ हजार १२७ शव फेला परेको छ । फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्। यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गहरू समेत फेला परेको प्रहरीले जनाएको छ।
रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ गरी १ हजार १ सय २७ जनाको शव फेला परेको हो । फेला परेकामध्ये १ हजार १ सय १३ को लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ ।
पहिचान नभएका ९ सय ११ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।