२०८३ भदौ १५ , सोमवार

सपना बोकेर टिमुरे पुगेका आयुष बाढीसँगै अस्ताए , देवघाटमा अन्त्येष्टि

1788164875-FBmQc

 

सुनाखरी न्युज/ काठमाडौं ।

सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृह जिल्ला जाने तयारीमा थिए । गत वैशाखमा पहिलो पोस्टिङ लिएर उनी रसुवाको टिमुरे पुगेका थिए। पहिलो जागिर। नयाँ ठाउँ। नयाँ जिम्मेवारी। अनि मनमा थियो, अझै ठूलो सपना। आयुष खरिदारमै रोकिन चाहँदैनथे। उनी अधिकृत बन्न चाहन्थे। त्यसकै लागि स्नातक तहको परीक्षा दिइरहेका थिए।

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोष्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन् ।  बाढीमा परेर शव भेटिएको पाँच दिनपछि सोमबार  ( भदौ १५ )  चितवन र तनहुँको संगमस्थल देवघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

शव बिग्रने अवस्था र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए । बागचौर नगरपालिका–१०, पिपलनेटाका आयुष, खड्का परिवारकै जेठो छोरा हुन् । उनी भदौ १२ मा काठमाडौं आउने योजनामा थिए । त्यसपछि परीक्षा दिन भदौ १६ मा घर जाने योजना बनाएका थिए । दुर्भाग्य, घर जाने तयारी गरिरहँदा भदौ १० को बिहान उनी बाढीमा परे ।

आयुषको परिवारमा बुवा, आमा र बहिनी छन् । आयुष बाढीमा परेको खबरपछि आमा मुना बेहोस भएकी थिइन् । आयुषको अन्त्येष्टि भइरहँदा आमा र बहिनी आयुषा अर्धमूर्च्छित भएका थिए । अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरूलाई सम्हालेका थिए ।