
सुनाखरी न्युज/ काठमाडौं ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका विभिन्न जिल्लामा सडकको अवस्था बिग्रिएको जनाएको हो ।
विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै कतिपय सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।
कोशी प्रदेशअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्गको सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । झापादेखि ताप्लेजुङ जोड्ने उक्त सडक अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा पनि सडक अवरुद्ध हुनुका साथै सवारी आवागमनमा कडाइ गरिएको छ। काभ्रेपलाञ्चोकमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । दिउँसो भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिने जनाइएको छ ।
मकवानपुरमा कान्तिलोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नुवाकोटमा टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्लाका अन्य मुख्य राजमार्ग तथा पासाङल्हामु सडक खण्डसमेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, धादिङमा पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशअन्तर्गत मुगुको छायानाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो गएपछि नाग्म–मुगु गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।