२०८३ भदौ १५ , सोमवार

बाढीले बगाएको बैंकको  भल्ट फोडेर रकरम वितरण, अनुसन्धान सुरु

3d renderng of a bank vault seen straight on

सुनाखरी न्युज/ काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम बाँडिएको आरोप लागेपछि धादिङमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले पनि बैंकको भल्ट फोडेर रकम बाँडिएको सूचना प्राप्त भएको पुष्टि गरेको छ।

बाढीले रसुवास्थित बैंकका शाखा कार्यालय तथा भल्टसमेत बगाएपछि धादिङको गल्छी क्षेत्रमा पुगेको एउटा भल्ट स्थानीयस्तरमा फोडेर त्यसमा रहेको रकम बाँडिएको आरोप सार्वजनिक भएको हो ।

धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले गल्छी गाउँपालिकाका एक वडाध्यक्षको नेतृत्वमा स्थानीयको समूहले बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेको र त्यसमा रहेको रकम बाँडेको आरोप लगाएकी छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त विषय सार्वजनिक गर्दै वडाध्यक्षसहित करिब ३५ जनाले भल्टमा रहेको १ करोड ८० लाख रुपैयाँ बाँडेको दाबी गरेकी हुन्।

सांसद तामाङका अनुसार घटनाबारे जिल्ला प्रशासन कार्यालय धादिङलाई समेत जानकारी गराइएको छ। उनले बाढीले बगाएर ल्याएको बैंकको सम्पत्ति आफूखुसी प्रयोग वा बाँडफाँट गरिएको भए त्यसको छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेकी छन्।

यसैबीच,  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक ९एसपी० सुमित खड्काका अनुसार गल्छी क्षेत्रमा बाढीले बगाएर ल्याएको भल्ट फोडेर रकम बाँडिएको सूचना आएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको अर्को एउटा भल्ट भने जिल्ला प्रहरी कार्यालय धादिङमा सुरक्षित राखिएको छ। उक्त भल्ट कुन बैंकको हो भन्नेबारे भने अहिलेसम्म यकिन भइसकेको छैन। भल्ट फोडेर रकम बाँडिएको भनिएको घटनामा सांसदले सार्वजनिक गरेको रकम र घटनामा संलग्न भनिएका व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।