
सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८३ भाद्र १० गते बुधबारको दिन भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय एवं अपूरणीय जनधनको क्षतिले हामीलाई अत्यन्तै मर्माहत एवं स्तब्ध बनाएको छ । यस अकल्पनीय भवितव्यमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धारको अपेक्षासहित यस कठिन घडिमा उद्धार र राहत कार्यमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ।
यस विपद्ले बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुर्याएको छ। प्रभावित क्षेत्रका जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकाले यसको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने देखिएको छ।
यस कठिन परिस्थितिमा मानवीय उद्धार तथा राहत, कर्मचारी र ग्राहकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता रहेको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक प्रबन्ध गरिरहेका छन्। साथै, वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण/पुनर्संरचना, किस्ता तथा ब्याज भुक्तानीमा सहजीकरण र व्यवसाय पुनःसञ्चालन तथा पुनर्निर्माणका लागि उपयुक्त सहयोग उपलब्ध गराउन सिबिफिनले आफ्ना सदस्य संस्थाका सञ्चालक समितिमार्फत आवश्यक समन्वय र सहजीकरण गर्नेछ। साथै, नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समेत समन्वय गरी उपयुक्त नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न सिबिफिन प्रयासरत रहने छ।
राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकाले उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग हातेमालो गरी आवश्यक सहयोग गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार र प्रतिबद्ध रहेको समेत जानकारी गराउदछौँ। अन्त्यमा, प्रभावित परिवार, व्यवसाय तथा समुदाय यथाशीघ्र सामान्य अवस्थामा फर्कन सकून् भन्ने कामना गर्दै संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले चालेका हरेक कदममा हातेमालो गर्दै एकताबद्ध भएर परिचालित हुन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा हार्दिक अपीलसमेत गर्दछौँ।