
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको मन्त्री पोखरेलले जानकारी दिए ।
बैठकले गृहमन्त्रीलाई उद्धारका लागि हेलिकोप्टरसहित सबै साधन प्रयोग गर्न निर्देशन दिएको छ । सरकारले घरबास गुमाएका मानिसहरुलाई गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिले मिलाउने भएको छ । बाढीबाट अवरुद्ध सडक र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने तथा विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले मिलाउने र घटनामा परि ज्यान गुमाउनेका परिवारलाई कानुन अनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।
-नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नर पदमध्ये एकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गर्ने।
-काठमाडौं- तराई – मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका लागि काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका, ललितपुर जिल्लाको गोदावरी नगरपालिका र बागमती गाउँपालिका, मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल ४६ . ३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र उक्त वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका १८९८ गोटा रुख पोल हटाउन स्वीकृति दिने ।
-राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर गुणाकर भट्ट ( डोटी ) लाई नियुक्त गर्ने।
-पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने ।
– पेट्रोलियम पदार्थको आपूर्ति र वितरण असहजताका कारण आवश्यक परे जोर(बिजोर प्रणाली लागू गर्ने । ‘वर्क फ्रम होम’ र विद्युतीय साधनको प्रयोग बढाउन जनतासँग आव्हान ।
-पासाङल्हामु राजमार्गको बेत्रावती(धुन्चे(स्याफ्रुवेशी सडक खण्डको बुनुवा घुम्तीमा पर्ने उत्तरगया गाउँपालिका वडा नम्बर ५ मा रहेको करिब २ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने।
-बृहत लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
– ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको जलश्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नम्बर ३ मा स्थानान्तरण गरी जल तथा ऊर्जा आयोगको सचिवालयको कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा हाल जलश्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र रहेको भवनमा स्थानान्तरण गर्ने।
– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्य ललिता कुमारी महर्जन एवं ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने।