२०८३ भदौ ८ , सोमवार

मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

m1-768×511

सुनाखरी न्युज/ काठमाडौं ।

१९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरकी तिशा शाक्यले जितेकी छन् । फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ मा १६ प्रतिस्पर्धिलाई पछाडि पार्दै प्रमूख उपाधि जितेवापत तिशाले नगद एक लाख रुपैयाँ प्राप्त गरिन् । उपाधि विजेता तिशाले मिस नेवाः नेपालको मुख्य ताजसँगै १० हजार नगद सहित गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितेकी छन्।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन्। हिमानी प्रधान मिस ट्यालेन्ट फस्ट रनर्सअप र करुणा चक्रधर सेकेन्ड रनर्सअप भए। करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए। सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने। प्रतियोगितामा दुर्गा देउला मिस डिसिप्लिन, हिमानी प्रधान मिस पब्लिक च्वाइस र प्रिस्टिन अवाले बेस्ट ड्रेस घोषित भए। त्यस्तै, कञ्चनजंघा अगरबत्ती मिस कल्चरको उपाधि शिक्षा महर्जनले जितिन्।

उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। बेलाभिटा मिस पर्सनालिटीको उपाधि निश्ला महर्जनले नगद १० हजार रुपैयाँसहित जितिन्। श्री केश बेस्ट हेयरको उपाधि कलशा अवालेले नगद १० हजार रुपैयाँसहित प्राप्त गरिन्। बेस्ट स्किन दृष्टि महर्जन, तस्बिर मिस फोटोजेनिक सारिका महर्जन, मिस स्माइल अनुष्का नाकर्मी तथा मिस चार्मिङ सोनिया महर्जन घोषित भए। मिस फ्रेन्डसिपको उपाधि रेजिना बज्राचार्यले जितिन्।

नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमुख निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्मण महर्जन, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित, सञ्चारकर्मी, लेक्चरर, उद्यमी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी सहसंस्थापक तथा निर्देशक स्वरूपा श्रेष्ठ र नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी सचिव प्रा.  दिव्यलक्ष्मी बज्राचार्य निर्णायक थिए।

फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी उपाध्यक्ष प्रा। डा। विमला शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधाका उपाधिमार्फत प्रतियोगीहरूको प्रतिभा र सांस्कृतिक पहिचानलाई सम्मान गरिएको थियो। प्रतियोगिताकी आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवा समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले मिस नेवाः नेपाल आयोजना गर्दै आएको बताइन्।

उनका अनुसार प्रतियोगितामा सौन्दर्यसँगै प्रतियोगीको प्रतिभा, व्यक्तित्व, अनुशासन, नेपालभाषा, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वका विभिन्न पक्षलाई मूल्यांकन गरिँदै आएको छ। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन, मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बेसडर चिफ तिमिला महर्जनको सह–संयोजन तथा मिस नेवाः सकिना महर्जन र कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो।