२०८३ भदौ ७ , आइतवार

पलाञ्चोक भगवतीको मूर्तिमा पसिना, मूर्तिलाई नुहाएर तान्त्रिक विद्याबाट गरियो क्षमा पूजा

Palanchowk

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको छ ।

शनिबार साँझको आरती गर्ने बेलामा भगवतीको मूर्तिमा पसिना देखिएको हो ।

देशमा कुनै दैवी विपत्ति तथा राजनीतिक संकट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न संकेत देखिनुको साथै मूर्तिमा पसिना आउने गरेको मन्दिर व्यवस्थापन उपसमितिको पूर्व संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार देशमा आउने दैवी प्रकोप या राजनीतिक संकटको बेलामा जहिल्यै भगवतीको मूर्तिमा पसिना आउने गरेको छ ।

भगवतीको मूर्तिमा गतसाल जेनजी आन्दोलन ताका, २०८१ को बाढीपहिरो, २० ७२ सालको भूकम्प, २०५८ सालको दरबार हत्याकाण्ड लगायत १९९० सालदेखि नै पटक-पटक दैवी प्रकोप या राजनीतिक संकटको बेलामा पसिना आउने गरेको थियो ।

 

पसिना आएपछि मूर्तिलाई नुहाएर तान्त्रिक विद्याबाट क्षमा पूजा गरिएको छ ।

पलाञ्चोक भगवतीको मन्दिर आजभन्दा करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रूपमा समेत चिनिनेगरेको छ ।