
सुनाखरी न्युज/ काठमाडौं ।
भदौ महिना सुरु भएसँगै अन्डाको मूल्य फेरी बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी सबै प्रकारका अन्डाको भाउ बढाएको हो। संघले यसपटक अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो। यसअघि गत साउन ३० गतेदेखि एक्सएल अन्डाको मूल्य ५७५, ठूलोको ५६० र मिडियमको ५२० रुपैयाँ निर्धारण गरिएको थियो।
साउनयता अन्डाको मूल्यमा भएको यो पाँचौँ संशोधन हो। साउनको सुरुआतमा एक्सएल अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ रहेकोमा महिनाको अन्त्यसम्म ५७५ रुपैयाँ पुगेको थियो। भदौ सुरु भएसँगै थप १५ रुपैयाँ बढेपछि एक्सएल अन्डाको मूल्य ५९० रुपैयाँ कायम भएको हो।
व्यवसायीका अनुसार उत्पादन घटेका कारण अन्डाको आपूर्ति र मागबीच असन्तुलन बढेको छ। बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डा उत्पादनमा उल्लेख्य कमी आएको उनीहरूको दाबी छ।
बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेको, कुखुरा मरेपछि अन्डा उत्पादनमा गिरावट आएको र बजारको माग धान्न कठिन भएकोले मूल्य बढाउन बाध्य भएको संघका अध्यक्ष विनोद पोखरेलले बताएका छन्।