२०८३ भदौ ४ , बिहिवार

दुई महिनाको नेपाल बसाइपछि छोरीसहित पुनः अमेरिका फर्किएका धुर्मुस

1787200984-85pgg

सुनाखरी न्युज/ काठमाडौं ।

हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि छोरीसहित पुनः अमेरिका फर्किएका छन्। उनले नेपाल बसाइको दुई महिनामा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन् ।

सामाजिक सञ्जालमा भावकु स्ट्याटस लेखदै उनले आसा भने जीवित रहेको उल्लेख गरेका छन् । दुई महिनाको अवधिमा राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि अथक प्रयास गरे पनि आफ्ना पीडा सुनाउने अवसरसम्म नपाएको उनले बताएका छन्। भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँ बजेटसमेत ‘फ्रिज’ हुने अवस्थामा पुगेको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

“१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु,” उनले लेखेका छन्, “आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ।”उनले १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन भनेर कटाक्ष गरेका छन् ।

लेखेका छन्, ‘मन निकै भारी भएको छ, ओठ कापेका छन्, आँखा रसाएका छन्, तर हृदयको कुनै कुनामा आसा अझै बाँकी छ, कुनै दिन राज्यले सम्झिनेछ, समयले सत्य बोल्नेछ।’