
सुनाखरी न्युज/ काठमाडौं ।
भन्सार मालवस्तुको पूर्व आगामन सूचना आदान प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भएको छ ।
समझदारी पत्रमा नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच हस्ताक्षर भएको हो । माल्दिभ्समा आयोजित एसएएसईसीको १४ औं सबग्रुप मिटिङका अवसरमा समझदारी पत्रमा चार देशका भन्सार प्रशासकहरूले हस्ताक्षर गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो समझदारी पत्रमा हस्ताक्षर गरिएको भन्सार विभागले जानकारी दिएको छ ।
विभागका अनुसार समझदारी पत्रको मुख्य उद्देश्य सदस्य राष्ट्रहरुबीच वस्तुहरूको पूर्व आगमन सूचना आदान प्रदान गर्नु रहेको छ । यसबाट मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै उपलब्ध सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न सहज हुनेछ ।