
सुनाखरी न्युज/ काठमाडौं ।
३५ वर्षको लामो अन्तरालपछि बंगलादेशमा आज राष्ट्रपति निर्वाचन हुँदैछ । स्थानीय समय अनुसार संसदमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
निर्वाचनमा सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ ।
यसै वर्ष १२ फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्किएको थियो । संसदमा बीएनपीको दुई तिहाइ भन्दा बढी बहमुत छ । त्यसैले मिर्जा फखरुल इस्लाम आलमगीरको जित सुनिश्चित मानिएको छ ।
उनी पेशाले अर्थशास्त्री हुन् । सन् १९९० को दशकमा उनी बीएनपीको राजनीतिमा आबद्ध भएका थिए । उनी पहिले कृषि राज्यमन्त्री र स्थानीय मन्त्री समेत बनेका थिए ।
मतगणना लाइभ प्रसारण हुने, विजेताको शपथ भोलि नै
राष्ट्रपति निर्वाचनमा ३४९ सांसद सहभागी हुनेछन् । राष्ट्रपति निर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण हुनेछ ।
नवनिर्वाचित राष्ट्रपतिले भोलि शुक्रबार साँझ नै बंगभवनको दरबार हलमा नयाँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।
अपदस्थ प्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद शहाबुद्दिनले स्वास्थ्य कारण देखाउँदै आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्नुअघि नै गत महिना राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुन लागेको हो ।
बंगलादेशमा हाल सभामुख हाफिज उद्दीन अहमद कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा छन् ।
बंगलादेशको संविधान अनुसार पदरिक्त भएको ९० दिनभित्र राष्ट्रपति निर्वाचन गराउनुपर्छ ।