
सुनाखरी न्युज/काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै कार्यशैली र व्यवहार सुधार गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा बुधबार मन्त्री र सांसदहरूलाई एकै ठाउँमा राखेर सभापति लामिछानेले सर्तक, सचेत र जिम्मेवार भएर काम गर्न कडा निर्देशन दिएका हुन् ।
त्यस्तै सभापति लामिछानेले मन्त्रीहरूका काममा कुनै कमी कमजोरी भएको पाएमा प्रमाणसहित सभापतिको सचिवालयमा लिखित जानकारी दिन सांसदहरूलाई निर्देशन दिएका छन् ।
त्यसबाहेक सभापति लामिछानेले सरकार र पार्टीबारे बाहिर चलेका प्रचारबाजी र हल्लामा नलाग्न निर्देशन दिँदै पार्टीलाई एक ढिक्का बनाउँदै नागरिकका अपेक्षा पुरा गर्नतर्फ लाग्न मन्त्री र सांसदहरूलाई निर्देशन दिएका छन्।
बैठकमा ग्यास अभावबारे उद्योगमन्त्रीले आधा सिलिण्डरका कारण केही समस्या भएको ब्रिफिङ गरेकी थिइन्। त्यसक्रममा उनले केही दिनभित्र त्यो समस्या पनि समाधान हुने बताएकी थिइन्।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ग्यास खरिदमा ३२ अर्ब छुट्याएको र अन्तर्राष्ट्रिय परिस्थितिका कारण बढ्दै जान सक्ने भएकाले भोलीका दिनमा त्यो भन्दा बढी रकम छुट्याउनुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।