
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदको प्रश्नको जबाफ दिन सभामुख डोलप्रसाद अर्यालले रूलिङ गरेका छन्।
सभामुखको रुलिङसँगै प्रधानमन्त्री शाहले जनताबाट निर्वाचित जनप्रतिनिधिको थलो संसदलाई नटेरेको घटना संसदीय रेकर्डमा बसेको छ।
प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले महिनाको पहिलो साता प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरुको प्रश्नको जबाफ दिनुपर्ने व्यवस्था छ।
तर प्रधानमन्त्री शाहले निर्वाचित भएदेखि अहिलेसम्म प्रतिनिधि सभा नियमावली अनुसार सांसदहरुको प्रश्नको जबाफ दिएका छैनन्। प्रधानमन्त्रीले लगातार सांसदहरुको प्रश्नको बेवास्ता गरेपछि सभामुख रुलिङ गर्नुपरेको नयाँ संसदीय इतिहास कायम भएको छ।
प्रधानमन्त्री शाहले आकस्मिक रुपमा २०८३ जेठ १७ गते सांसदहरुलाई प्रश्न सोध्न लगाएर केही प्रश्नको जबाफ दिएका थिए। तर त्यो प्रश्नोत्तर प्रतिनिधि सभा नियमावली अनुसार थिएन।
नियमावली अनुसार प्रश्नोत्तर अहिलेसम्म हुन सकेको छैन।
नियमावली अनुसार सभामुखले प्रश्नोत्तरका लागि मिति तय गर्नुपर्छ। त्यसपछि सांसदहरुले प्रश्न टिपाउँछन्। ती प्रश्नमा प्रधानमन्त्रीले संसदमा जबाफ दिनुपर्छ।
प्रधानमन्त्री आउनेरनआउने नै टुङ्गो नभएपछि सभामुख अर्यालले मिति तोक्न सकेका छैनन्।
तर संसदमा विपक्षीहरुको लगातारको विरोध अन्त्य गर्न भने सभामुख अर्यालले सफल भएका छन्।
सभामुखले रुलिङ गरेपछि सांसद विपिन आचार्यले नियमावली पल्टाएर हेरेका थिए। त्यस्तै लामिछानेले दलका उपनेता गणेश पराजुलीसँग सोधपुछ गरेका थिए। सभाुमखले रुलिङ गर्दा प्रधानमन्त्री शाह भने बैठकमा उपस्थित थिएनन्। प्रधानमन्त्री शाह अहिलेसम्म ६ वटा बैठकमा मात्र सहभागी भएका छन्।