२०८३ भदौ १ , सोमवार

जेलमा बिहान सबेरैदेखि प्रहरीकाे खानतलासी , कैदीबन्दीहरू आन्दोलित

morangkaragar

सुनाखरी न्युज/ काठमाडौं ।

मोरङ जिल्ला कारागारमा आज बिहानैदेखि खानतलासी सुरु भएपछि कैदीबन्दीले प्रदर्शन गरेका छन्। कारागारको बी ब्लकमा बिहान साढे ४ बजेदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी गरिएको हो । प्रहरीले कारागारभित्र आकस्मिक खानतलासी सुरु गरेपछि आक्रोशित कैदीबन्दीहरूले कारागारको छतमा चढेर विरोध प्रदर्शन गरेका हुन्।

विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा सोमबार बिहान करिब ५ बजेदेखि प्रहरी टोली खानतलासीका लागि भित्र पसेको थियो। प्रशासनले कारागारभित्रको सुरक्षा जाँचसँगै त्यहाँ रहेका विवादास्पद नाइके अभिषेक गिरीका सहयोगीहरूलाई अन्यत्र स्थान्तरण  ( सरुवा )  गर्ने तयारी गरेपछि स्थिति बिग्रिएको हो।

कारागार भित्रका कैदी बन्दी बस्ने स्थानमा खानतलासी गर्न मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी बिहान ४ः३० बजे पुगेका थिए । एसपी कटवालले खानतलासी नियमित भएको बताए । ‘कारागारमा बेला–बेला खानतलासी र सर्च गर्ने गरिएको छ । अहिले त्यसैलाई निरन्तरता दिइएको हो । यो नियमित प्रक्रिया हो,’ उनले भने ।

कारागारमा खानतलासी सुरु भएसँगै बी ब्लकका कैदीबन्दी आन्दोलित भएका छन् । खानतलासीसँगै कैदीबन्दीको स्थानान्तरण गर्ने तयारी भइरहेको बुझेपछि त्यसको विरोधमा उनीहरू प्रदर्शन र नाराबाजीमा उत्रिएका हुन् । उनीहरू कारागारभित्रै आगो बालेर विरोधमा उत्रिएका थिए । उनीहरूले कारागारभित्रै नाराबाजी गर्दै आगो बालेर प्रदर्शन गरेका छन्। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।