
सुनाखरी न्युज/ काठमाडौं ।
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने ‘नाग पञ्चमी’ पर्व आज देशभर परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ ।
यस अवसरमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसी दूध, अक्षता, फूल र दुबो लगायत पूजा सामग्री चढाएर नागको पूजा गर्ने चलन छ। नागको पूजा गरेमा सर्पको भयबाट मुक्ति मिल्नेछ। त्यसैगरी घरमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास समेत रहँदै आएको छ।
घरको ढोकामा नागको तस्बिर टाँस्नाले वर्षभरि नाग, सर्प, बिच्छी जस्ता घिस्रने जीवको भय नहुने र अग्नि, मेघ एवम् चट्याङबाट समेत जोगिन सकिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा। डा। देवमणि भट्टराईले जानकारी दिनुभयो।नाग पूजाको इतिहास वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यता अनुसार नागलाई सर्पका राजा मानिन्छ। नाग रुष्ट भएमा जलको अभाव हुने भएकाले पानीको व्यवस्था सहज होस् भनी नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको हो।
नागपञ्चमीका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नागस्थान तथा मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ। नागपोखरी, टौदह र नागदह लगायतका स्थानहरूमा विशेष पूजा तथा धार्मिक गतिविधिहरू भइरहेका छन्।धार्मिक महत्त्वका साथै नागपञ्चमीलाई प्रकृति र सर्प संरक्षणसँग जोडेर पनि हेरिने गरिन्छ। खेतबारीमा पाइने सर्पले मुसा लगायतका जीव नियन्त्रणमा सहयोग पुर्याउने भएकाले पर्यावरणीय सन्तुलनमा नागको महत्त्वपूर्ण भूमिका रहेको छ।