२०८३ श्रावण २९ , शुक्रवार

ग्यास सिलिन्डर अनावश्यक मौज्दात राखे कारबाही

gas

सुनाखरी न्युज/ काठमाडौं ।

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई नेपाल आयल निगमले  कारबाही गर्ने चेतावनी दिएको छ ।

निगमले बिहीबार सूचना जारी गर्दै ३१ असारदेखि बजारमा १४।२ किलोको भरी सिलिन्डर बिक्री वितरण भइरहेको र साविकभन्दा करिब २० प्रतिशत बढी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो बढेपछि ध्यानाकर्षण भएको बताएको छ ।

 

निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी र जानकारीका आधारमा बजार अनुगमन गर्दा कतिपय होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस लगायत व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखेको पाइएको सूचनामा उल्लेख छ ।

त्यसरी अनावश्यक ग्यास मौज्दात नराख्न र यदि राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न गराउन सम्बद्ध सबैमा निगमले आग्रह गरेको छ ।