२०८३ श्रावण २७ , बुधवार

नेप्सेको सिईओको लागि आठ जनाको आवेदन

NEPSE-Building

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज ( नेप्से )  को प्रमुख कार्यकारी अधिकृत  ( सीईओ )  पदका लागि आठ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम समयसम्ममा ८ वटा आवेदन दर्ता भएका हुन्। मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ छनोट गर्न १५ दिनको समय दिएर आवेदन आह्वान गरेको थियो। इच्छुक तथा योग्य नेपाली नागरिकलाई मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउन भनिएको थियो।

सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार विज्ञहरूमार्फत कार्ययोजनाको मूल्याङ्कन गरिसकेपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार पारिनेछ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। यो सम्पूर्ण छनोट प्रक्रिया टुंगिएर नेप्सेले नयाँ नेतृत्व पाउने प्रवक्ता लम्सालले जानकारी दिए। यसअघि सिफारिस समितिले साउन १२ गतेदेखि २६ गतेसम्मका लागि आवेदन खुला गरेको थियो।