२०८३ श्रावण २७ , बुधवार

भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन हुने परियोजनाहरुको सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर

PIC (4)

सुनाखरी न्युज/ काठमाडौं । 
काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुले आज भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कुल अनुमानित लागत नेरु. ८०.३ करोडमा ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु नेपालमा सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर गरे ।

२. यी आठवटा परियोजनाहरुमा (१) कोशी प्रदेशको सुनसरी जिल्लाको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन (२) कोशी प्रदेशको भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्रको निर्माण (३) बागमती प्रदेशको धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका–६ मा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवनको निर्माण (४) कोशी प्रदेशको मोरङ जिल्लाको बेलबारी नगरपालिका–३ मा अवस्थित बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण (५) कर्णाली प्रदेशको दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ मा १० शैयाको अस्पताल निर्माण (६) कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ४ मा कृषि प्रवद्र्धन केन्द्रको निर्माण (७) गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा कोल्ड स्टोरको निर्माण र (८) कोशी प्रदेशको सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको निर्माण रहेका छन् । यी परियोजनाहरु नेपाल सरकारका स्थानीय निकाय तथा संस्थाहरुमार्फत कार्यान्वयन गरिनेछन् ।

३. सन् २००३ यता भारत सरकारले आज समझदारी पत्रमा हस्ताक्षर भएका ८ वटा परियोजनाहरु सहित हालसम्म नेपालमा ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगिता निर्माणका क्षेत्रमा ५१२ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् र बाँकी परियोजनाहरु कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् ।

४. नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।