
सुनाखरी न्युज/ काठमाडौं ।
त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका रविन्द्र मेहताको शव एक हप्तादेखि अस्पतालमै छ । गत १० गते राति दुई समूदायबीच भएको दंगामा प्रहरीले गोली चलाउँदा घाइते भएका रवीन्द्रको उपचारका क्रममा साउन १९ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनको शवको पोस्टमार्टमसमेत हुन सकेको छैन। मृतक परिवारले पोस्टमार्टमअघि नै रवीन्द्रलाई सहिद घोषणा गर्नुपर्ने माग राखेका छन्। साथै, उनको शरीरमा लागेको गोलीको ब्यालिस्टिक परीक्षण पहिले गर्नुपर्ने परिवारको माग छ।
सरकारले भने सहिद घोषणा गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भन्दै पोस्टमार्टमपछि मात्र थप प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेको छ। गृहमन्त्री सुधन गुरुङले परिवारसँग पटक–पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन। मृतक परिवारले सहिद घोषणा र घटनामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने अडान परिवारले राख्दै आएको छ। सुनसरी र सिराहामा पछिल्लो समय भएको दंगामा रवीन्द्रसहित चार जनाको मृत्यु भएको थियो। मृतकमध्ये सुनसरीका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिराहाको औरही गाउँपालिकाका गणेश यादव रहेका छन्।
उनीहरूसँग भने सरकारले ७/ ७ बुँदे सहमति गरेको छ। सो लगत्तै अन्त्येष्टि पनि भइसकेको छ। सरकार पक्ष र मृतकका परिवारसँग सहमति हुन नसक्दा रविन्द्रको शवको पोस्टमार्टम हुन सकेको छैन । पीडित पक्षले शव परीक्षण गर्नुअघि नै सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन् । सहिद घोषणा गर्न निश्चित कार्यविधि पुरा गर्नुपर्ने हुनाले सहमति हुन नसकेको गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्कीले बताए ।