२०८३ श्रावण २४ , आइतवार

तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

kiran-sing-kapilbast_i6rauJlgRN

 

सुनाखरी न्युज / काठमाडौं ।

शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वी मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन् ।सिंहको शब जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए । ६५ वर्षका पूर्वमेयर किरण सिंह कपिलवस्तु–३ स्थित आफ्नो घरबाट शुक्रबार दिउँसो करिब २ बजे निस्किएका थिए।

करिब ३ः२७ बजे उनी चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा रामराज पुलसम्म पुगेको देखिएको छ।त्यसको केही समयपछि उनले आफू निकटका व्यक्तिहरूलाई मोबाइलमार्फत् आफू जंगलमा बाटो बिराएको जानकारी दिएका थिए। त्यसपछि आफन्तसहितको टोलीले उनको खोजी सुरु गरेको थियो।

उनको खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने गरेको लु प्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।