
सुनाखरी न्युज/ काठमाडौं ।
हर्मुज जलमार्ग पुनः अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खोल्नुअघि इरानले अमेरिकाले आफ्ना विभिन्न सर्त पूरा गर्नुपर्ने बताएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घादरले शनिबार अमेरिकी प्रतिबन्धदेखि सैन्य उपस्थितिसम्मका विषय समेटिएका माग अघि सारेपछि रणनीतिक जलमार्ग पुनः खुल्ने विषय अन्योलमा परेको छ।
जोल्घादरले इरानी सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको वक्तव्यमा हर्मुज पुनः खोल्न अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, सबै प्रतिबन्ध अन्त्य गर्नुपर्ने, इरान वरपरबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने, युद्ध क्षतिपूर्ति दिनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग गरेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।
त्यसैगरी अमेरिकाले इरानका क्षेत्रीय सहयोगीमाथि गरिरहेका आक्रमण अन्त्य गर्नुपर्ने र इरानविरुद्धका धम्कीसमेत रोक्नुपर्ने उनको माग छ।
इरानी पक्षका यी मागबारे ह्वाइट हाउसले तत्काल प्रतिक्रिया दिएको छैन।