२०८३ श्रावण २२ , शुक्रवार

ब्रड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

766183691_1051852840920820_6203679794498273865_n

सुनाखरी न्युज / काठमाडौं ।

पाकिस्तानको ब्रड पिक हिमालमा गत बिहीबार गएको हिमपहिरोमा ज्यान गुमाएका १० आरोहीमध्येका पुरबहादुर ‘युक्त’ गुरुङको शुक्रबार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि स्वर्गीय गुरुङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी, पर्वतारोही, परिवारका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पाकिस्तानको ब्रोड पिक क्षेत्रमा गएको हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा  ( निम्सदाइ )  सहित ६ नेपालीसहित १० जना पर्वतारोहीको ज्यान गएको थियो। मृतकमध्ये गुरुङको शव बिहीबार नेपाल ल्याइएको थियो। गोरखाको लाप्राक गाउँका स्थायी बासिन्दा गुरुङ नेपालको पर्वतारोहण क्षेत्रमा अनुभवी र सफल आरोहीका रूपमा परिचित थिए।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण गरेका थिए भने ८ हजार मिटरभन्दा अग्ला विभिन्न हिमालहरू २८ पटक सफलतापूर्वक आरोहण गरेर नेपाली पर्वतारोहण क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनको असामयिक निधनले नेपाली पर्वतारोहण क्षेत्रले एक अनुभवी, साहसी र समर्पित आरोही गुमाएको भन्दै पर्वतारोहण समुदायले गहिरो दुःख व्यक्त गरेको छ।