२०८३ श्रावण २२ , शुक्रवार

ट्रम्पले रोके अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध

trump

 

सुनाखरी न्युज / काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई नयाँ स्वरूपमा अघि बढाएका छन् । अमेरिकी सर्वोच्च अदालतले केही साताअघि उनको अघिल्लो प्रयास असंवैधानिक ठहर गर्दै रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग रोक्न यस्तो निर्णय गरिएको बताउनुभयो।

उहाँले जन्मसिद्ध नागरिकतासम्बन्धी आफ्नो अघिल्लो आदेश सर्वोच्च अदालतले रोकेको निर्णयप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो। पहिलो कार्यकारी आदेशअनुसार दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा, यदि उनीहरूमध्ये एक जना विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारका कर्मचारी, जालसाजीमार्फत अमेरिकी नागरिकता लिन प्रयास गरेका व्यक्ति वा संघीय कानुनअनुसार स्वतः नागरिकता नपाउने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्ति भएमा त्यस्ता शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्।

मिलरले राष्ट्रपति ट्रम्पलाई आप्रवासन तथा राष्ट्रियता ऐनअन्तर्गत अमेरिका प्रवेशमा प्रतिबन्ध निर्धारण गर्ने अधिकार रहेकाले ‘बर्थ टुरिजम’ रोक्न सक्ने तर्क गरे। ट्रम्पले सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेलगत्तै अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यकारी आदेश जारी गरेका थिए। त्यसविरुद्ध परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले गत जुनमा उक्त आदेश कार्यान्वयन गर्न नमिल्ने फैसला गर्दै जन्मसिद्ध नागरिकताको व्यवस्था यथावत् रहने निर्णय गरेको थियो।

बिहीबार ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई ‘अन्यायपूर्ण र गलत’ भन्दै त्यसपछि आफूले फरक उपायबाट लक्ष्य हासिल गर्न खोजेको बताए। यद्यपि, अमेरिकी कानुनविद् गेब्रियल चिनले ट्रम्पले जारी गरेका नयाँ आदेशका केही प्रावधान कानुनी रूपमा टिक्न सक्ने भए पनि केही व्यवस्थाले गम्भीर संवैधानिक प्रश्न उठाउने बताएका छन्।

बीबीसीसँग कुरा गर्दै उनले राष्ट्रपतिलाई केवल बच्चा जन्माउने उद्देश्यले अमेरिका आउने व्यक्तिमाथि केही सीमा लगाउने अधिकार हुन सक्ने स्वीकार गरे। तर एकपटक अमेरिका प्रवेश गरेर बच्चा जन्मिसकेपछि उसलाई अमेरिकी नागरिक नमान्ने अधिकार राष्ट्रपतिसँग नभएको तर्क गरे। चिनका अनुसार ‘बर्थ टुरिजम’ अमेरिकामा हुने कुल जन्मदरको तुलनामा अत्यन्तै सानो हिस्सा मात्र हो र यसलाई असामान्य प्रकृतिको घटना मानिन्छ।