
सुनाखरी न्युज / काठमाडौं ।
अबदेखि विद्यालयहरुले जबरजस्ती विद्यार्थीको कपाल काट्न वा कटाउन नपाउने भएका छन् । परिषद्ले विद्यालय र शिक्षकहरुलाई जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको हो । जबरजस्ती विद्यार्थीको कपाल काट्दा वा कटाउँदा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्ने भन्दै त्यस्तो गतिविधि गर्न नपाइने नियमावलीमा उल्लेख छ ।
अर्कोतर्फ विद्यार्थीको शारिरिक स्वरुप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने वा लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाउने पनि नियमावलीमा भनिएको छ । पछिल्लो केही दिनदेखि विद्यालयमा विद्यार्थीहरुको कपाल जबरजस्ती काटिदिएको भन्दै उजुरी परेको भन्दै परिषद्ले त्यस्तो कार्य बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि ऐन, २०७५ को दफा ६६ को उपदफा ( २ ) को खण्ड ( घ ) विपरीत हुने जनाएको छ । परिषद्का अनुसार यस्ता कार्य बालबालिका विरुद्धको हिंसा तथा कसूर ठहर हुनेछन् ।
राष्ट्रिय बाल अधिकार परिषद्ले जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको छ । यस्तो कार्य गर्नेलाई सोही ऐनको दफा ७२ को उपदफा (३ ) को खण्ड ( क ) बमोजिम ५० हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको परिषद्ले जनाएको छ । यसअघि विद्यार्थीको इच्छा विपरीत विद्यालयहरुले जबरजस्ती विद्यार्थीको कपाल काट्ने वा काट्न लगाउने गरेका थिए ।
सो सम्बन्धी व्यापक गुनासो आएपछि नियमावलीमा सो व्यवस्था गरिएको हो । अर्कोतर्फ कारवाहीका नाममा विद्यार्थीलाई लामो समयसम्म घाममा उभ्याउन पनि नपाइने नियमावलीमा उल्लेख छ । त्यस्तै, शुल्क नतिरेकै कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।