२०८३ श्रावण १९ , मंगलबार

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

gas

सुनाखरी न्युज / काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ । कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उहाँको भनाइ छ ।पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्रीवितरणलाई सहज बनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

‘प्रशासनका तर्फबाट समन्वय भइरहेको छ, बजार अनुगमन पनि गरिरहेका छौँ, आजभोलिसम्ममा तीनवटा बुलेट पोखरामा भित्रदैछन्’, सहायक प्रजिअ बरालले भन्नुभयो, ‘अहिले देखिएको समस्या विस्तारै सहज हुँदैछ, उपभोक्तालाई पनि आश्वस्त हुन आग्रह छ ।’ केही दिनअघि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सरोकार भएका पक्षबीचको बैठकले ग्यासको आपूर्ति, बिक्री र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

ग्यास उद्योग तथा बिक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अद्यावधिक गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ ।

बिक्रेता र उपभोक्तालाई अनावश्यक रुपमा ग्यास सञ्चित नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा कालोबजारी नगर्न सचेत गराइएको कार्यालयले जनाएको छ । ग्यास उद्योगलाई पनि बिक्रेतामार्फत सही रुपमा ग्यासको वितरण भए- नभएको नियमित अनुगमन गर्न आग्रह गरिएको सहायक प्रजिअ बरालले बताउनुभयो ।