
सुनाखरी न्युज / काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ। हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी थिइन् ।शनिबार नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै दैनिक मागअनुसार एलपी ग्यासको आयात तथा आपूर्ति नियमित भइरहे पनि केही सञ्चारमाध्यममा ग्यास अभावसम्बन्धी समाचार प्रकाशित भएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
निगमका अनुसार बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै एलपी ग्यास उद्योगलाई पर्याप्त ग्यास उपलब्ध गराउन निर्देशन दिइएको छ। साथै विक्रेताहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी बिक्री गर्न, खरिदकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा वितरण गर्न आग्रह गरिएको छ। बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ।