२०८३ श्रावण १८ , सोमवार

आज साउनको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

pashupatinath-6

सुनाखरी न्युज  / काठमाडौं ।

हिन्दू धर्मावलम्बीहरूले आज साउन महिनाको तेस्रो सोमबार भगवान् शिवको विशेष पूजा–आराधना, व्रत र जलाभिषेक गरी श्रद्धापूर्वक मनाइरहेका छन्। साउन महिनाका सोमबारलाई भगवान् शिवको आराधनाका लागि वर्षकै सबैभन्दा पवित्र दिनमध्ये एक मानिने भएकाले देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।

पौराणिक मान्यताअनुसार साउन महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेषगरी साउनका प्रत्येक सोमबार व्रत बसेर शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो, अक्षता, चन्दन र विभिन्न पूजासामग्री चढाई पूजा–आराधना गरे मनोकामना पूरा हुने तथा सुख, शान्ति, समृद्धि र दीर्घायु प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

आज बिहानैदेखि काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयहरूमा भक्तजनको भीड लागेको छ। भक्तजनहरूले लामबद्ध रूपमा दर्शन गरी शिवलिङ्गमा जलाभिषेक गर्दै “ॐ नमः शिवाय” मन्त्र जप गरेका छन्। पशुपतिनाथ, डोलेश्वर महादेव, किराँतेश्वर महादेव, हलेसी महादेव, देवघाट, अर्जुनधारा जलेश्वर, पिण्डेश्वरलगायतका प्रसिद्ध शिवधामहरूमा पनि विशेष पूजा–आराधनाको व्यवस्था गरिएको छ।

धार्मिक मान्यताअनुसार अविवाहित युवतीहरूले असल जीवनसाथी प्राप्तिको कामना गर्दै साउने सोमबार व्रत बस्ने परम्परा छ भने विवाहित महिलाहरूले परिवारको सुख, शान्ति, समृद्धि र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत तथा पूजा गर्ने चलन रहेको छ। पछिल्ला वर्षहरूमा पुरुष भक्तजनले पनि ठूलो संख्यामा साउने सोमबारको व्रत बस्ने क्रम बढ्दै गएको छ।

शिव मन्दिरहरूमा बिहानदेखि नै रुद्राभिषेक, महामृत्युन्जय जाप, शिवपुराण वाचन, भजन–कीर्तन तथा सामूहिक आरतीजस्ता धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। धेरै भक्तजनले दिनभर निराहार वा फलाहार व्रत बसेर साँझ पूजा सम्पन्न गरेपछि मात्र व्रत खोल्ने परम्परा पनि निर्वाह गरिरहेका छन्।

यस वर्ष पनि साउने सोमबारका अवसरमा मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भक्तजनको सहज दर्शनका लागि स्वयंसेवक परिचालन, दर्शनका छुट्टाछुट्टै लाइन व्यवस्थापन तथा आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराइएको सम्बन्धित मन्दिर व्यवस्थापन समितिहरूले जनाएका छन्।