
सुनाखरी न्युज / काठमाडौं ।
अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक ( बी–२ ) र व्यापारिक ( बी–१ ) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो ।
नयाँ नियमअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि आवेदन दिने नेपाली नागरिकले भिसा पाउनुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। यो रकम नेपाली रुपैयाँमा करिब १४ लाखदेखि ३० लाख रुपैयाँसम्म हुन सक्छ। यसअघि परीक्षण कार्यक्रम सञ्चालनका क्रममा कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो । तर नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ। भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने ( ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था स्थायी बनाइएको मन्त्रालयले जनाएको छ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकमा यो नियम लागू हुनेछ।