
सुनाखरी न्युज/ काठमाडौँ ।
गृहमन्त्री सुदन गुरुङ र सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका १४ वर्षीय गणेश यादवका परिवारबीच सहमति भएको छ। परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठ बुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटघाटपछि सञ्चारकर्मीसँग बताएका हुन्। सहमतिअनुसार घटनामा दोषी देखिएकामाथि कानुनी कारबाही गरिने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने, मृतकका भाइ र बहिनीको शिक्षाको उचित व्यवस्था गरिने तथा बिरामी रहेका मृतकका आमाबुवाको उपचार खर्च सरकारले व्यहोर्ने सहमति भएको छ।
सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले घटनामा संलग्न जोसुकै दोषी देखिए पनि कानुनअनुसार कारबाही गरिने बताए। उनले सरकार दोषीलाई कुनै पनि हालतमा नछाड्ने स्पष्ट पारे।हाल मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइने र परिवारले दाहसंस्कार गर्ने सहमति भएको छ।
साम्प्रदायिक तनावका बीच भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। परिवारका अनुसार उनी खाना पकाउने ग्यास खोज्न बाहिर गइरहेका बेला आन्दोलनका क्रममा गोली लागेर घाइते भएका थिए र उपचारका क्रममा उनको मृत्यु भएको थियो।