
सुनाखरी न्युज/ काठमाडौँ ।
कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ र घर, पसल साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिने घोषणा गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले राहत घोषणासँगै सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको हो।बैठकको निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक दल, सामाजिक संघसंस्था र प्रशासनबीच समन्वयात्मक पहल गरिनेछ।
स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्त एवं अन्तरिक मामिला तथा कानुन मनत्री इन्द्रमणी पराजुलीले बताए ।
सरकारले सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा, सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गरिने बैठकको निर्णय गरेको उनले बताए ।