
सुनाखरी न्युज/ काठमाडौँ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले १० दिनमा साढे ७ करोड नजिक व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ। प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ ।१० दिनको अवधिमा फिल्मका २ लाख ६० हजार २५२ वटा टिकट बिक्री भएका छन्।
योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । पहिलो स्थानमा ‘जात्रा’ समूहको फिल्म ‘लालीबजार’ छ, जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो । यो फिल्मको रेकर्ड ‘गौँथली’ले यसै साता तोड्ने निश्चित देखिएको छ। यस फिल्मले प्रदर्शनयताकै सबैभन्दा उच्च व्यापार गत शनिबार गरेको थियो । त्यसदिन फिल्मको कमाइ १ करोड ६५ लाखमाथि थियो । यो यस वर्ष नेपाली फिल्मले गरेको सर्वाधिक एकदिने कमाइ हो ।
हिजो आइतबार पनि फिल्मले लगभग डेढ करोडको व्यापार गर्यो । फिल्मको व्यापारिक रफ्तार हेर्दा यसै साता १० करोडको आँकडा पार हुने देखिन्छ ।‘गौंथली’ ले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको ग्रस व्यापार गरेको थियो, जुन यस वर्ष कुनै पनि नेपाली चलचित्रले एकै दिन गरेको सर्वाधिक कमाइ ( हाइएस्ट सिंगल डे कलेक्सन) हो ।