
सुनाखरी न्युज/ काठमाडौँ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपको घटनाबारे छानबिन गर्न गठित सरकारी समिति घटनास्थल पुगेको छ।गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको टोली घटनास्थलमा पुगेको हो । समितिमा प्रहरी र सशस्त्रका एसपीसहित ५ जना सदस्य छन् ।
समितिले झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ३० वर्षीय ओमप्रकाश मेहताको परिवारसँग पनि भेटघाट गरेको छ। टोलीले घटनाका सम्बन्धमा पीडित परिवार, स्थानीयवासी तथा सम्बन्धित पक्षसँग जानकारी संकलन गरेको जनाएको छ।
समितिका संयोजक तथा गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले घटनाका सबै पक्षबाट प्राप्त तथ्य, प्रमाण र सुझाव समेटेर प्रतिवेदन तयार पारिने बताए। उनले प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने र त्यसका आधारमा आवश्यक निर्णय तथा थप प्रक्रिया अघि बढाइने जानकारी दिए।
गत आइतबार देवानगञ्ज–३ को कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको थियो।