२०८३ श्रावण १३ , बुधवार

सुनसरी घटनाबारे प्रधानमन्त्री : दोषीलाई कारबाही, नागरिकलाई संयम अपनाउन आग्रह

balendra-shaha_LndfcFnsia-1134×600

सुनाखरी न्युज/ काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुने र पीडितले न्याय पाउने विश्वास दिलाएका छन्।उनले घटनामा सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु र घाइते हुनु सामान्य विषय नभएको भन्दै दोषीमाथि कानूनबमोजिम कारबाही हुने प्रतिबद्धता व्यक्त गरे।

सन्देशमा साहले सामान्य असन्तुष्टिबाट शुरू भएको घटना आक्रोश र उत्तेजनाका कारण गम्भीर अवस्थामा पुगेको उल्लेख गरे। उनले समाज भाँडिने र एकअर्काप्रति डर पैदा हुने अवस्था कसैले पनि चाहेको नहुने बताए।घटनाको शुरूआतदेखि नै सरकारले उपस्थिति देखाए पनि पर्याप्त हुन नसकेको स्वीकार गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय भइरहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सबैलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्याग्न आग्रह गरे। “मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो,” भन्दै उनले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउनु रहेको बताए। उनले सामाजिक सद्भाव कायम राख्न, भ्रामक गतिविधिबाट टाढा रहन र एकअर्काप्रति प्रेम तथा सम्मानको भावना कायम राख्न सबै नागरिकसँग आग्रह गरे।

यस्तो छ प्रधानमन्त्रीको स्टाटस्

नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए ।

प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।

यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु । सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको छ । तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ ।

मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यहि हो । मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ । फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।