
सुनाखरी न्युज/ काठमाडौँ ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ ।
वेदव्यासले वेद, वेदान्त, अठार पुराण, उपनिषद् लगायतका धार्मिक ग्रन्थको रचना गरी हिन्दू धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिन्छ। गुरुपूर्णिमाका अवसरमा शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै मिष्ठान्न, फलफूल तथा उपहार अर्पण गरी आशिर्वाद लिने परम्परा छ।
गुरुलाई आमा- बुबा सरह सम्मान गर्ने संस्कार नेपाली समाजमा अझै कायम रहेको छ। यस अवसरमा विद्यालय, कलेज तथा विभिन्न संघ-संस्थाले विशेष कार्यक्रम आयोजना गरी शिक्षक तथा गुरुजनप्रति कृतज्ञता व्यक्त गरिरहेका छन्। धर्मशास्त्रअनुसार संस्कृत शब्द ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानको ज्योति फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। यही सन्देशलाई आत्मसात् गर्दै आज देशभर गुरुपूर्णिमा मनाइँदै छ।
यसैबीच आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।